किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार

विदुर खबर २०८३ भदौ २२ गते १४:०४

नुवाकोट । हालैको बाढीपहिरोबाट प्रभावित भएका आफ्ना नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्वासका लागि नुवाकोटको किस्पाङ गाउँपालिकाले महत्त्वाकांक्षी निर्णयहरू गरेको छ।

Advertisement

गाउँपालिकाको विपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाको मिति २०८३/०५/२१ गते बसेको संयुक्त बैठकले राहत वितरणदेखि अनाथ बालबालिकाको अभिभावकत्व र सडक पूर्वाधार मर्मतसम्मका ९ वटा मुख्य निर्णयहरू पारित गरेको हो।

पालिकाका अनुसार प्रारम्भिक तथ्याङ्क वडा तहबाट रुजु र प्रमाणित भइसकेपछि सबै राहत रकम तथा सुविधाहरू तत्काल वितरण गरिनेछ।

Advertisement

कार्यपालिका बैठकका ९ मुख्य निर्णयहरू:
मृतक तथा बेपत्ता परिवारलाई रु. ३० हजार: बाढीपहिरोमा परी ज्यान गुमाएका वा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति रु. ३०, हजार तत्काल राहत सहायता दिइनेछ।

कर्मचारी र शिक्षकलाई पनि समान राहत: पालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी तथा शिक्षक बाढीपहिरोमा परी मृत्यु वा बेपत्ता भएमा उनीहरूका परिवारलाई पनि रु. ३०, हजार राहत प्रदान गरिनेछ।

Advertisement

अनाथ बालबालिकाको सम्पूर्ण दायित्व: बाढीपहिरोका कारण बाबुआमा दुवै गुमाएका बालबालिकालाई त्रिभुवन मा.वि. अर्चलेमा बाल स्याहार केन्द्र स्थापना गरी गास, बास, मनोरञ्जन र शिक्षासहितको पूर्ण अभिभावकत्व गाउँपालिकाले प्रदान गर्ने भएको छ।

घरबारविहीनलाई मासिक रु. ४ हजार आवास खर्च: स्थायी ठेगाना भएर घर भत्किएका वा बस्न अयोग्य भई घरबारविहीन बनेका परिवारलाई तत्काल ३ महिनासम्म प्रतिमहिना रु. ४,००० का दरले आवास सहायता रकम दिइनेछ।

विस्थापितका लागि बसोबास व्यवस्था: पालिकाभित्रका घर भई अन्यत्र विस्थापित भएका परिवारलाई न्यूनतम जीविकोपार्जनका लागि आवश्यक कोठाका सामानसहित व्यवस्थापन गरिनेछ।

बाहिरी पालिकाका विस्थापितलाई आश्रय: किस्पाङ बाहिर ठेगाना भई तत्काल घर फर्किन नसक्ने विस्थापित नागरिकहरूका लागि अस्थायी होल्डिङ सेन्टर सञ्चालन गरी न्यूनतम गास र बासको प्रबन्ध मिलाइनेछ।

मुख्य सडक तत्काल सुचारु गरिने: बाढीले क्षति पुर्‍याएको तुप्चे-सोले-सातदोबाटो सडक सञ्चालन गर्न आवश्यक समन्वय गरी पालिकाले तत्काल काम अगाडि बढाउने निर्णय गरेको छ।

वैकल्पिक मार्ग र ह्युम पाइप व्यवस्थापन: तुप्चे-चेम्पेश्वर-चिलाउने सडक खण्डको चेम्पेश्वरमा तत्काल ह्युम पाइप राखी सडक मर्मत गरिनेछ।

ग्रामीण सडक सुधार: पालिकाभित्रको यातायातलाई सहज बनाउन अर्चले-चाम्पानी सडक लगायतका अन्य मुख्य सडकहरूको सुधार तथा स्तरोन्नति द्रुत गतिमा अघि बढाइनेछ।

प्रतिक्रिया