बाढीले नुवाकोटका एघार सहकारीमा क्षति

विदुर खबर २०८३ भदौ २२ गते १०:२२

नुवाकोट । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले त्रिशूली नदी किनारमा रहेका जिल्लाका ११ वटा सहकारी संस्थाहरुमा पूर्ण क्षति पुयाएको छ ।

Advertisement

बाढीबाट साँघु बहुउद्देश्यीय सहकारी, उपकार बचत तथा ऋण सहकारी, त्रिशुली बचत तथा ऋण सहकारी, दक्षिणकाली बचत तथा ऋण सहकारी, कुलभतेश्वर बचत तथा ऋण सहकारी, मातृभूमि बहुउदेश्यीय सहकारी संस्थामा क्षति पुगेको छ।

यस्तै मातामनकामना बचत तथा ऋण सहकारी, हाम्रो सहकारी, शुभकामना बहुउदेश्यीय सहकारी, उत्तरगया बचत तथा ऋण सहकारी र जाल्पादेवी बहुउद्देश्यीय सहकारी पूर्णरूपमा क्षति भएका छन् ।

Advertisement

यी सहकारीमा बाढीले कार्यालय भवन, नगद, कम्प्युटर, फर्निचर, कागजात र अन्य उपकरणमा क्षति पुयाएपछि सहकारीको दैनिक कारोबारसमेत बन्द भएको छ । यी सहकारी संस्था विदुर, देवीपाट र त्रिशूली नदी आसपासका बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा थिए ।

विदुर नगरपालिका वडा नं. १ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारीको कार्यालय भवन नै बाढीले पुरेको छ । कार्यालयभित्र रहेका नगद, फर्निचर, कम्प्युटर, कागजात लगायत सामग्री पुरिएपछि संस्थाले ठूलो क्षति व्यहोरेको छ । सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठका अनुसार भवन र कार्यालयका सामग्रीसमेत जोड्दा संस्थाको करिब साढे दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। सहकारीले अहिले अधिकांश कारोबार कम्प्युटर सफ्टवेयरमार्फत सञ्चालन गर्दै आएका छन्। कार्यालयमा रहेका कम्प्युटर तथा उपकरणमा क्षति पुगेपछि केही संस्थाका डिजिटल कारोबार पुनः प्राप्त गर्न कठिनाइ हुन सक्ने देखिएको छ।

Advertisement

त्रिशूली वचत तथा ऋण सहकारीको हकमा भने प्रयोग भइरहेको सफ्टवेयर इन्फोडेभलपमेन्ट, सानेपामार्फत सञ्चालन भएकाले सदस्य, बचतकर्ता तथा ऋणीको विवरण सुरक्षित रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यालयको भौतिक संरचना ध्वस्त भए पनि डिजिटल अभिलेख सुरक्षित रहेकाले अवस्था सामान्य भएपछि सेवा पुनः सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

बाढीले सहकारीका कार्यालय मात्र होइन, संस्थासँग प्रत्यक्ष जोडिएका मानिसलाई समेत प्रभावित बनाएको छ । बाढीबाट प्रभावित संगम सहकारीका केही शेयर सदस्य तथा सञ्चालक अझै सम्पर्कमा आएका छैनन्। सम्पर्कविहीन हुनेमा नरेन्द्र जोशी, सरिता जोशी, चन्द्रकला पुवाल, हिराकृष्ण श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, देवकुमारी श्रेष्ठ र कोपिला श्रेष्ठ रहेका छन्।

नुवाकोटमा करिव तीन सय सहकारी संस्था सञ्चालनमा छन्। तीमध्ये त्रिशूली नदी तथा आसपासका क्षेत्रमा रहेका संस्थाहरू बाढीबाट बढी प्रभावित भएका हुन् ।

बेत्रावती, भैंसे, त्रिशूली, ढुंगे, देवीघाट, महादेवफाँट र कोल्पुटारलगायतका बजार तथा बस्तीमा बाढीले ठूलो क्षति पुयाएको छ। यी क्षेत्रका व्यवसाय बजार तथा वित्तीय संस्थासमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया