प्याब्सन नुवाकोटले बाढी प्रभावित विद्यार्थी र शिक्षकलाई राहत तथा छात्रवृत्ति दिने

विदुर खबर २०८३ भदौ १६ गते २२:१९

नुवाकाेट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको पूर्ण बैठकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थी, शिक्षक तथा विद्यालयहरूका लागि विशेष राहत र सहयोगको घोषणा गरेको छ।

Advertisement

मंगलवार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारलाई सहजीकरण गर्न विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।

बैठकले बाढीका कारण आमा-बुबा दुवै गुमाएर अभिभावकविहीन बनेका विद्यार्थीहरूको पूर्ण अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको छ। त्यस्तै, बाढीका कारण घरबारविहीन भएका विद्यार्थीहरूलाई अध्ययनमा बाधा नपुगोस् भन्ने उद्देश्यले आवश्यक पाठ्यपुस्तक तथा स्टेसनरी सामग्रीहरू नि:शुल्क उपलब्ध गराइने भएको छ।

Advertisement

विद्यार्थीका अतिरिक्त बाढीबाट प्रभावित निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूप्रति पनि प्याब्सनले दायित्वबोध गरेको छ। बाढीका कारण घरबारविहीन हुन पुगेका शिक्षक तथा कर्मचारीहरूलाई उनीहरूको अवस्था र आवश्यकताका आधारमा तत्काल राहत उपलब्ध गराइने निर्णय बैठकले गरेको छ।

बाढीका कारण नुवाकोटका दुई वटा सदस्य विद्यालयहरू—त्रिशूलीस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र बेत्रावतीस्थित उत्तरगया पब्लिक इङ्गलिस स्कुलको भौतिक पूर्वाधारमा पूर्ण रूपमा क्षति पुगेको छ। क्षति पुगेका ती विद्यालयहरूको पुनःस्थापनका लागि संस्थागत रूपमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्याब्सनले जनाएको छ।

Advertisement

यसैगरी, बाढीमा परी बेपत्ता भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय सञ्चालकहरूको खोजबिन कार्य जारी रहेकाले उनीहरूको हकमा स्थिति स्पष्ट भएपछि आगामी बैठकबाट ठोस निर्णय लिइने प्याब्सन नुवाकोटले जनाएको छ।

प्रतिक्रिया