रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न

विदुर खबर २०८३ भदौ ७ गते २१:३९

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले जिल्लाभर संगठन सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरेको ‘मिसन १२ पालिका’ अभियानको पहिलो चरण सम्पन्न गरेको छ।

Advertisement

गत श्रावण २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको उक्त अभियान अन्तर्गत जिल्लाका १२ वटै पालिका र ८८ वटै वडामा पुगेर आधारभूत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको रास्वपा नुवाकोटले जनाएको छ।

रास्वपा नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलको नेतृत्वमा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रत्यक पालिकामा खटाइएको थियो। वैकल्पिक राजनीतिलाई स्थापित गर्दै मजबुत, एकीकृत र अनुशासित संगठन निर्माण गर्ने उद्देश्यका साथ यो अभियान चलाइएको सभापति गजुरेलले जानकारी दिए ।

Advertisement

“हामीले केवल सांगठनिक विस्तार मात्र नगरी नागरिकका गुनासोहरू प्रत्यक्ष रूपमा सङ्कलन गरी सम्बन्धित निकायमार्फत समाधानको पहल गर्न सबै तहलाई सक्रिय बनाएका छौँ,” सभापति गजुरेलले भने ।

प्रशिक्षणका क्रममा नेता तथा कार्यकर्ताहरूलाई पार्टी विधान, आचारसंहिता, क्यान्डिडेट क्लब, नियमित बैठक सञ्चालन र वडा तथा पालिका स्तरमा पार्टी कार्यालय विस्तारबारे स्पष्ट पारिएको थियो।

Advertisement

हालका दिनहरूमा रास्वपा नुवाकोटले सांगठनिक गतिविधिका साथै सामाजिक कार्यहरूमा समेत उपस्थिति बढाउँदै लगेको छ।

प्रतिक्रिया