नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु

विदुर खबर २०८३ साउन २९ गते २२:१३

नुवाकोट। नुवाकोटको ककनी गाउँपालिकामा वर्षाका कारण ढलेको बिजुलीको पोलबाट करेन्ट लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नं. १ जलकिनी निवासी ४८ वर्षीय आइतराम बलामी रहेका छन्।

प्रहरीका अनुसार गत साउन २८ गते बेलुका करिब ६:३० बजे बलामी आफ्नो घरबाट खेतबारीतर्फ जाने क्रममा घरबाट करिब ५० मिटर पश्चिम सडकमा रहेको बिजुलीको पोल वर्षाका कारण ढलेको थियो। सोही पोल र तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Advertisement

घटनाको जानकारी पाउनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर घटनास्थल लाशजाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरेको थियो।

शवलाई पोष्टमार्टमका लागि ललितपुरस्थित पाटन अस्पताल पठाइएकोमा साउन २९ गते पोष्टमार्टम सम्पन्न गरी दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ।

Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इकबाल हवारीले जानकारी दिए ।

प्रतिक्रिया