बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक

विदुर खबर २०८३ साउन २६ गते २१:०४

नुवाकोट। अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि नुवाकोटको बाहुनबेसीदेखि खरानीटारसम्मको सडक खण्डमा रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज (साउन २६ गते) एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि प्रत्येक दिन राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ।

तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिकाका केही भागलाई जोड्ने यो मुख्य सडक खण्डमा भारी वर्षाका कारण अचानक पहिरो, बाढी र लेदो (गेग्रान) आई सडक अवरुद्ध हुने गरेको छ। सम्भावित जोखिम तथा मानवीय क्षति कम गर्न र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईँद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

Advertisement

तर, अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तै— एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडीहरूलाई भने यो प्रतिबन्ध लागू हुने छैन।

प्रशासनले वर्षाको समयमा अत्यन्त जरुरी काम नपरी घरबाहिर ननिस्कन र रात्रिकालिन यात्रा नगर्न सम्पूर्ण सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गरेको छ।

Advertisement

साथै, विपद् सम्बन्धी कुनै जानकारी वा सहयोग चाहिएमा निम्न हटलाइन नम्बरहरूमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ:

नेपाल प्रहरी: १००

सशस्त्र प्रहरी बल: ११ १४

जिल्ला आपत्कालीन केन्द्र (DEOC): १२३४

प्रतिक्रिया