तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने

विदुर खबर २०८२ चैत २९ गते १३:२४

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलको निर्देशन अनुरूप तारकेश्वर गाउँपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रहरू आज आइतबार खुला रहेका छन् ।

Advertisement

संघीय सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अख्तियार गरे लगत्तै गाउँपालिका अध्यक्ष अधिकारीले स्वास्थ्य र शिक्षा क्षेत्रबाहेक गाउँपालिकाभित्रका अन्य सबै कार्यालयहरूको हकमा संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन बिदा गर्न तर स्वास्थ्य र शिक्षा क्षेत्रमा भने सातामा एक दिन शनिबार मात्रै बिदा गर्न सम्बन्धित शाखा तथा स्वास्थ्य केन्द्रहरू र विद्यालयहरूलाई निर्देशन दिएका थिए ।

स्वास्थ्य सेवा अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने र सातामा दुई दिन स्वास्थ्य सेवा बन्द हुँदा आम नागरिकले पाउने स्वास्थ्य सेवामा गम्भीर असर पर्ने भएकाले स्वास्थ्य केन्द्रहरूलाई पूर्ववत रूपमा साताको एक दिन मात्रै सेवा बन्द गर्न निर्देशन दिएको अध्यक्ष अधिकारीले बिदुर खबरलाइ बताए ।

Advertisement

त्यस्तै, विद्यालयहरूका हकमा यसपटकको शैक्षिक सत्रको पठनपाठन वैशाख २१ गतेपछि मात्रै सुरु हुने हुँदा यसै पनि दुई साताको समय कम हुने र त्यसमाथि सातामा दुई दिन विद्यालय बन्द गर्दा बालबालिकाको अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिनाइ हुने भएकाले भएकाले बालबालिकाको भविष्यप्रति गम्भीर हुँदै संघीय सरकारको पछिल्लो नीतिको कार्यान्वयनबाट पुग्न जाने शैक्षिक क्षतिको परिपूरणका लागि संघीय सरकारले स्पष्ट र विस्तृत कार्य योजना ल्याएको खण्डमा सोहीअनुसार गर्ने अन्यथा अहिलेकै अवस्थामा भने सातामा दुई दिन विद्यालय बन्द गर्न उपयुक्त नहुने निष्कर्ष सहित पूर्ववत रूपमै आइतबार विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको अध्यक्ष अधिकारीले बताए ।

Advertisement

प्रतिक्रिया