नुवाकाेटकाे तारकेश्वरका विद्यालय आइतबार बन्द नहुने

विदुर खबर २०८२ चैत २८ गते १९:३८

नुवाकाेट । नुवाकाेटकाे तारकेश्वर गाउँपालिकाका शैक्षिक संस्था अाइतवार बन्द नहुने भएकाे छ ।

Advertisement

शनिवार तारकेश्वर गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक समेत रहेका शिव अधिकारीले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरूलाइ चार बँदे निर्देशन दिँदै अाइतवार विद्यालय बन्द नगर्न र वैशाख २ गतेदेखिनै विद्यालय संचालन गर्न निर्देशन दिएका हुन् ।

अध्यक्षा अधिकारीले गाउँपालिकाको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने नीति अख्तियार भएको भन्दै चार बुँदे निर्देशन दिएका छन् ।

Advertisement

अध्यक्ष अधिकारीले पूर्वनिर्धारित तालिका अनुसार वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएका छन ।

त्यस्तै नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गर्ने र प्रभावकारी शिक्षण क्रियाकलापका लागि शिक्षकहरू बीच सामूहिक छलफल र शैक्षणिक सीपको आदानप्रदानका कार्यक्रमहरू सञ्चालन समेत अध्यक्ष अधिकारीले निर्देशन दिएका छन् ।

Advertisement

उनले वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने व्यवस्था मिलाउन समेत सम्बन्धित निकायलाइ अाग्रह गरेका छन् ।

अध्यक्ष अधिकारीले अहिलेकाे अवस्थामा सातामा दुई दिन शिक्षण संस्था बन्द गर्दा विद्यार्थीहरूको पठनपाठनका लागि आवश्यक समय अपुग हुने देखिएकाे र संघीय सरकारको सातामा दुई दिन बिदा दिने निर्णयका पछाडि इन्धनको बचत पहिलो उद्देश्यका रुपमा देखिएको भन्दै गाउँपालिकाभित्र शिक्षण संस्था सञ्चालन हुँदा इन्धनको खपतमा थपिने भार नगन्य रहेकाेले संघीय सरकारबाट नयाँ शैक्षिक कार्ययोजना सहित विस्तृत योजना आएको खण्डमा सोही अनुसार गर्ने तर यही अवस्थामा भने नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न ढिला भएको १५ दिन र त्यसमाथि सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीहरूको शैक्षिक सिकाइ उपलब्धिमा गम्भीर क्षति पुग्ने देखिएकाले विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार हुँदै साताको एक दिन शनिबार मात्रै विद्यालय बन्द गर्न अधिकारीले निर्देशन दिएका छन् ।

विद्यालयहरू बाहेक गाउँपालिकाभित्रका अन्य कार्यालयहरूको हकमा भने संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन कार्यालय बन्द रहने र अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

अध्यक्ष अधिकारीले यो निर्देशन पूर्णतः कार्यान्वयन गर्न, गराउन गाउँपालिका शिक्षा शाखा र गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरू र सो अनुसार भए नभएको यकिन गर्न नियमित रूपमा विद्यालयहरूको अनुगमन गर्न गाउँ प्रहरीलाई निर्देशन समेत दिएका छन्र ।

प्रतिक्रिया