रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण

विदुर खबर २०८२ चैत २२ गते ११:३३

नुवाकोट । साहित्यकार इन्दिरा रेग्मीद्वारा लिखित कृति ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रहको लोकार्पण गरिएको छ ।

Advertisement

शनिबार राजधानीको रत्नराज्य पुस्तकालयमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार गोविन्दमान सिंह कार्की र बेलकोटगढी नगरपालिका उपमेयर शिवप्रसाद दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

नुवाकोटको बेलकोटगढी–११, अमारे निवासी रेग्मीको यो पहिलो कृति हो । लोकार्पण कार्यक्रममा विभिन्न साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नोबेल साकोस साहित्य संस्था केन्द्रद्वारा प्रकाशित उक्त मुक्तक संग्रहमा १७७ वटा मुक्तक समावेश छन् ।

Advertisement

कार्यक्रममा कार्कीले रेग्मीको यो पहिलो कृति भए पनि महत्वपूर्ण र उत्कृष्ट मुक्तकहरू समेटिएकोमा खुशी व्यक्त गर्दै आगामी साहित्यिक यात्राको सफलताको कामना गरे । त्यसैगरी बेलकाेटगढी नगरपालिकाका उपमेयर दाहालले साहित्य क्षेत्र पनि समावेशी विकासको एक महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै रेग्मीको लेखनप्रति प्रशंसा व्यक्त गरे । उनले रेग्मीका रचनाहरू यसअघि पनि पढ्ने गरेको बताउँदै ढिलै भए पनि कृति प्रकाशन गरेकोमा बधाई दिँदै नगरपालिका तर्फबाट विधिसम्मत सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा साहित्यकारहरू धुर्व गजुरेल, निर्मल रमण पराजुली, दामोदर ढकाल तथा नुवाकोट साहित्य संगमकी अध्यक्ष सुमिता सुमीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहरूले रेग्मीका मुक्तक समेत वाचन गरेका थिए ।

Advertisement

साहित्यकार रेग्मीले आफ्नो पहिलो कृति भएकाले पाठक तथा साहित्यकारहरूबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताइन् । कार्यक्रममा विभिन्न सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया