नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ

विदुर खबर २०८२ माघ २३ गते ७:५३
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-९ सिउरेनीमा सामान्य विवादपछि एक पुरुषको हत्या भएको घटना सार्वजनिक भएको छ।

Advertisement

हत्या पश्चात् मृतकको शव मल खाल्डोमा पुरिएको बताइएको छ यद्यपि प्रहरीले शव निकाल्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार साँझ घटेको घटनामा ४४ वर्षीय कर्मी भनिने शन्त बहादुर तामाङको मृत्यु भएको हो। उनी साविक बेनपा–४ डाडाखर्कका स्थायी बासिन्दा भए पनि हाल बेलकोटगढी- ९ सिउरेनीमा बसोबास गर्दै आएका थिए ।

Advertisement

घटनामा संलग्न भएको आशंकामा सोही स्थानका ‘पुलिस’ भनिने शेषमान तामाङ र शिव तामाङलाई प्रहरीले पक्राउ गरेको छ। दुवै जनाको उमेर अन्दाजी ३२-३३ वर्ष रहेको जनाइएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक र पक्राउ परेका व्यक्ति छिमेकी रहेको खुलेको छ । बेलुका मदिरा सेवन गरी सँगै बसेका बेला सामान्य विवाद चर्किंदै झगडामा परिणत भएको र सोही क्रममा शन्त बहादुर तामाङको मृत्यु भएको आशंका प्रहरीले गरेको छ।

Advertisement

घटना लुकाउने उद्देश्यले शव मल खाल्डोमा पुरिएको बताइएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया