दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

विदुर खबर २०८२ मंसिर १७ गते २१:५७

नुवाकोट । नुवाकोटको ऐतिहासिक तथा धार्मिक महत्व रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ ।

Advertisement

मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । उनका अनुसार, यसवर्ष चतुर्दशी र पूर्णिमा एकैदिन परेकाले मुख्य दर्शनको घुइँचो आजैदेखि लागेको हो ।

आज बिहानैदेखि साँझ ५ बजेसम्म १५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान छ । भोलि पूर्णिमाका दिन यो संख्या अझै धेरै हुने दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

Advertisement

मेलामा विशेषगरी बाँस र निगालोका चोयाबाट बनाइएका थुन्से, डोका, भकारी, नाङ्लोलगायत हस्तकलाका सामग्रीको कारोबार हुने स्थानीय राजकुमार श्रेष्ठको भनाइ छ ।

गाईभैंसीलाई धुवाउने परम्परागत धुपी र शिखरबेंसी क्षेत्रमा उत्पादन हुने समुन्द्रफिनी जातको धानको चामलसहित अन्य कृषिउपजको व्यापार मेलाको मुख्य आकर्षण मानिन्छ ।

Advertisement

प्रतिक्रिया