विदुरमा खानेपानीको अभाव, धारामा लोडसेडिङ

विदुर खबर २०८२ साउन १ गते १९:४९
फाइल तस्बीर ।

नुवाकोट । बर्खा लागेपछि विदुर नगरपालिका क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ ।

Advertisement

सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भएसँगै पानी वितरण गर्ने संस्था विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले धारामा लोडसेडिङ गर्न थालेको छ

सदरमुकाममा धारामा पानी नखाएपछि मानिसहरुको खानेपानी भर्नको लागि सार्वजनिक धाराहरुमा भिड लाग्ने गरेको छ । बट्टार र विदुरका सार्वजनिक धाराहरुमा पानी भर्न अहिले लाइन लाग्ने गरेको छ ।

Advertisement

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने पानी फलाखु खोला मुहान बर्खासँगै बगाउने गरेकाले विगत वर्षदेखि नै खानेपानीको समस्या हरेका वर्खाको समयमा हुने गरेको छ ।

यस वर्ष पनि असारदेखि विदुर नगरपालिकाको वडा नम्बर १, २, ४ , ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेको खानेपानीमा समस्या सुरु भइसकेको छ ।

Advertisement

विदुर नगर क्षेत्रमा पानीको अभाव हुन नदिन बट्टारको बोरिङबाट निकालिएको पानी आलो पालोमा वितरण गरिएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले विदुर खबरलाई बताए । मुहानमा ग्रेगर आएर थुप्रिएपछि अवरोध हटाएर पानी संचालन गर्न खोजिए पनि संभव नभएको श्रेष्ठले बताए ।

उनले नुवाकोटतर्फबाट डोजर लगेर खन्न संभव नभएपछि रसुवाबाट लैजान खोज्दा त्यताको स्थनियबाट अवरोध आएको जानकारी दिए । खेतमा खोलाको बाढी पस्छ भन्दै रसुवाका स्थानियले खोलामा स्काभेटर लैजान दिएनन्, स्काभेटरले खन्दा ४ घण्टौ पानी वितरण गर्न सकिन्थ्यो त्यो पनि संभव नभएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहयोग मागिएको उनले बताए ।

उनले खोलाले आफ्नो धार परिवर्तन गरेकोले मुहानबाट खानेपानी सन्चालन हुन नसकेको भन्दै भोली सबैको सहभागितामा मर्मत कार्य शुरु गरिने जानकारी दिए ।

बाढीले मुख्य नहरमा गेगर र ढुङ्गा थुप्राएपछि एक महिनादेखि झण्डै ५ हजारभन्दा बढी उपभोत्ताहरुले पानीको अभाव झेलिरहेका छन् । बजार क्षेत्रमा पानीको अभाव कम गर्न वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र बिदुरको डिपबोरिङको खानेपानी अस्थायी रूपमा वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताए ।

वर्षात् लागेपछि पहिराको कारण धारामा पानी आउन छाडेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्साको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएका छन् ।

यस्तै खानेपानीको मुहान अवलोकन गर्न मंगलवार गएका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जनताहरुलाई खानेपानीको अभाव हुन नदिन आफुहरु लागि रहेको बताए । उनले समितिलाई आवश्यक सहयोग र समन्वय आफुहरुले गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

यसैविच विदुर नगरपालिकाको बजार क्षेत्रमा पानीको चरम अभाव भएपछि नगरपालिकाले आफ्नै ट्याङकरबाट निशुल्क पानी वितरण शुरु गरेको छ ।

बजार क्षेत्रमा पानीको अभाव भएपछि मेयर श्रेष्ठले ट्याङकरबाट पिउने पानी वितरण गर्न निर्देशन दिएपछि खानेपानी वितरण शुरु भएको हो ।

प्रतिक्रिया