राजीनामा दिन्न, अविश्वासको प्रस्ताव फेस गर्छु : मुख्यमन्त्री लामा
नुवाकोट । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)लाई हटाउन कांग्रेसकै २१ जना सांसदले हस्ताक्षर गरेका छन् ।

त्यसअघि सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएका थिए । चुनावबाटै प्रदेश संसदीय दलको नेता निर्वाचित भएका लामाले आफू राजीनामा नदिने तर अविश्वास प्रस्ताव आए फेस गर्ने चुनौती दिएका छन् ।
यसै सन्दर्भमा उनीसँग कुलचन्द्र न्यौपानेले गरेको संक्षिप्त कुराकानी ।
तपाईंलाई संसदीय दलको नेताबाट हटाउन आफ्नै पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । तपाईंको राजीनामा कहिले आउँछ ?
किन राजीनामा दिने ? म राजीनामा दिन्नँ । राजीनामा दिने कुरा गरेको छैन । म त काम गरिरहेको छु । चुनावबाट दलको नेता निर्वाचित भएको हुँ । अनि किन राजीनामा दिने ? अहिले मेराविरुद्ध जे गर्न खोजिएको छ, यो एउटा रोग हो । यसले पछि अरु प्रदेशमा अस्थिरता भित्र्याउँछ ।
तपाईं र इन्द्रबहादुर बाँनियाँबीच एक/एक वर्ष मुख्यमन्त्री हुने सहमति थियो, त्यसअनुसार राजीनामा दिन भनेर पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पनि तपाईंले मान्नुभएन भनेर आइरहेको छ नि ?
त्यो सत्य होइन । मलाई कसैले छोड्न भनेर भनेको पनि छैन । एक/एक वर्ष मुख्यमन्त्री हुने सहमति भएको पनि होइन । सहमति भएको भए संसदीय दलको निर्वाचनमा किन चुनाव हुन्थ्यो । सहमतिमै भइन्थ्यो होला नि ! चुनावबाट निर्वाचित भएर म दलको नेता भएको हो । त्यसैले भाग्ने कुरा छैन । म दलको नेतामा अविश्वास प्रस्ताव आए फेस गर्छु । म भागेर हिँड्ने व्यक्ति होइन । दलको नेता हटेपछि गठबन्धनका बीच अर्को निर्णय नभएसम्म म मुख्यमन्त्री कायमै रहन्छु । दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिने कुरै छैन ।
पार्टीभित्र बढ्दै गएको असन्तुष्टिको प्रभाव त बागमतीमा देखिएको होइन ?
त्यो त मलाई थाह छैन । म प्रदेशमा काम गरेको छु । अहिले यो बागमतीमा सुरु भएको छ । पार्टीका नेताहरुले यसलाई समर्थन गर्ने काम गरे यो रोग अरु प्रदेशमा पनि जान्छ र केन्द्रमा पनि सुरु हुन थाल्छ । संसदीय दलको नेता म पाँच वर्षका लागि निर्वाचित भएको हो । एक वर्षका लागि थियो भने पहिला चुनाव गर्न हुन्थेन । मैले पहिल्यै पनि भनेको हो, आधा–आधा कार्यकाल लिउँ चुनाव नगरौं भनेर । तर, उसले (इन्द्रबहादुर बानियाँ) ले चुनाव जित्छु भनेर लागे । तर, मैले चुनाव जितेँ । अहिले आएर सहमति थियो भनेर कसरी भन्न पाइन्छ ? म जहिल्यै चुनाव लडेर आएको व्यक्ति हो । विधि, विधानअनुसार म पाँच वर्षको लागि निर्वाचित दलको नेता हो । मैले छोड्ने कुरा हुन्न ।
अहिले बागमतीमा अर्थमन्त्रीले विवादस्पद रुपमा बजेट ल्याए । बेथितिको चाङ नै भित्र्याए र यो स्थिति आएको हो भन्ने छ नि ?
बजेट त जति दिए पनि नहुने रहेछ । सांसदले बजेट दिएपछि हालत के हुन्छ ? एक जनालाई सात/आठ करोडसम्म बजेट दिएको । प्रत्यक्षबाट निर्वाचित कसैले पनि पाँच करोड रुपैयाँ कमको बजेट पाएको छैन । समानुपातिक सांसदका लागि ३ करोडको बजेट दिइएको छ । तर, जति दिए पनि खुशी बनाउन नसकिने रहेछ ।
तपाईं हिजो संसदीय दलको नेता बन्दा शेरबहादुर देउवाकै टिमबाट हुनु भयो । अहिले त्यही टिमले तपाईंलाई हटाउन खोज्दै छ ? अब तपाईं कुन टिममा रहने ?
टिमको कुरा कहिले कतै भइन्छ, कहिले कतै । म अहिलेसम्म हिजो जहाँ थिएँ, त्यहीं छु । सधैं शेरबहादुर दाइको पक्षमा लागेर आएको हो । हिजो साथ दिँदै आएको हो । आजको दिनसम्म त्यहीं छु । तर, भोलिको दिनमा परिस्थिति के हुन्छ भन्न सकिन्न । पछिको परिस्थिति र समयले थाह हुन्छ । शेरबहादुर दाइ आफै अब फेरि सभापति नहुने भएपछि परिस्थिति अर्को हुनसक्छ ।
मुख्यमन्त्रीबाट हट्नका लागि सत्ता सहयात्री एमालेले पनि केही भनेको छ कि ?
छैन । म मुख्यमन्त्री छु । राजीनामा दिएका मन्त्रीहरुको ठाउँमा आज/भोलि नै अर्को मन्त्रीहरु नियुक्ति गर्छु । संयुक्त सरकारको नेतृत्व गर्नका लागि संसदीय दलको नेता नै हुनुपर्छ भन्ने छैन ।

त्यसैले मैले गठबन्धनले अर्को निर्णय नगर्दासम्म मुख्यमन्त्रीबाट राजीनामा दिने कुरा पनि छैन । दलको नेताबाट त झनै दिने कुरा नै भएन ।
कान्तिपुर दैनिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया