विदुर-६ का छसय परिवारलाई विद्युतीय चुलो वितरण

विदुर खबर २०८२ असार २७ गते १८:२८

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ का छसय घरपरिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ ।

Advertisement

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ७० प्रतिशत सहयोगमा वडा कार्यालयले चुलो वितरण गरेको विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि वडा कार्यालयले चुलो वितरण गरेको उनले बताए ।

देश बाहिर जाने अत्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई वडाले जोड दिएको वडाध्यक्ष चालिसेले बताए । उनले वडा कार्यालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा चुलो वितरण गरिएकोले छुट भएका व्यक्तिहरुलाई आगामी दिनमा समेट्दै लैजाने बताए ।

Advertisement

“आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परेपनि आफ्नै देशमा रहन्छ,” वडाध्यक्ष चालिसेले भने, “झट्ट हेर्दा बाटो बनाएजस्तो काम देखिँदैन्, मानवीय विकासमा भएको यो खर्चले दिर्घकालिन रुपमा प्रभाव देखाउँछ ।”

एलपी (खाना पकाउने) ग्यासभन्दा विद्युतीय चुलो सस्तो पर्ने भएकाले ३० प्रतिशत उपभोक्ताको लगानीमा चुलो वितरण गरिएको हो । चुलो लिँदा उपभोक्ताले ३० प्रतिशत अर्थात् एक हजार १ सय २५ रुपियाँ लिइएको छ ।

Advertisement

दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेको वडा सदस्य रामचन्द्र पौडेलले बताए ।

यस्तै वडा कार्यालयबाट बिहिबार र शुक्रवार गरि छ सय जनालाई चुलो वितरण गरिएको वडासचिव ठाकुर केसीले जानकारी दिए ।

प्रतिक्रिया