त्रिशूली नदीमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्धार

विदुर खबर २०८२ असार २४ गते १०:५०

नुवाकोट । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

Advertisement

उद्धार गरिएकाहरुमा नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ छन् ।

नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।

Advertisement

उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको छ । सहायक रथी बस्नेतले थपे, ‘उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर खटिएको छ ।’ पहिलो हेलिकप्टरले उनीहरुको उद्धार नगरी फर्किएको थियो । पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो ।

“बसपार्क नजिकै त्रिशूली नदीको बीचमा दुई जना महिला र पुरुष फसेको अवस्थामा थिए। उनीहरूलाई सेनाको हेलिकप्टरले उद्धार गरेको छ,” नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए।

Advertisement

बाढी बढेपछि रूख चढेर बसेका उनीहरूलाई फसेको तीन घण्टापछि हेलिकोप्टरबाट उद्धार गरिएको थियो।

पानीको सतह बढेसँगै त्यस आसपासका मानिसहरू अन्यत्र गइरहेको बताइएको छ। उद्धारका लागि स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत खटिएका छन्।

तर नदीमा पानीको सतह झन् बढ्दै आएकोले अवस्था कठिन भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया