आठ करोड रूपैयाँ लागतमा त्रिशूलीमा नयाँ पुल

नुवाकोट । त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि आठ करोड रूपैयाँ लगानीमा नयाँ पक्की पुल निर्माण गरिएको छ ।
एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको आठ करोड रूपैयाँ लगानी भएको छ । भारी सवारीसाधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बताए ।
‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् । यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।
वि. सं २०२० मा त्रिशुली तर्न ‘ट्रस ब्रिज’ निर्माण गरिएको थियो । सोही पुल जिर्ण भएपछि नयाँ पक्की पुल निर्माण भएको हो ।
प्रतिक्रिया