यौनहिंसा ठहरे पललाई १२ वर्षसम्मको कैद

नुवाकोट । अभिनेता पल शाहविरुद्ध ‘नाबालिग’ एक गायिकाले बलात्कारको जाहेरी दिएपछि उनीहरूका शुभचिन्तक दुई खेमामा बाँडिएका छन् ।

Advertisement

‘१८ वर्ष उमेर नपुगेकी गायिका’ले अभिनेता पूर्णविक्रम (पल) शाहले आफूलाई जबरजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाऊँ भनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गराएसँगै उनीहरूका समर्थक दुई खेमामा विभाजित भएका हुन् ।

जाहेरी दरखास्त दर्ता भई पक्राउका लागि अनुमति प्रदान भएको पाँचौं दिनमा पल स्वयम् जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भई गिरफ्तारी दिएको र लगत्तै निजलाई अनुसन्धानका लागि हिरासतमा राख्न संहिताको दफा १४ बमोजिम अदालतमा हाजिर गराई ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

Advertisement

नेपालको संविधान २०७२ को धारा १८ ले व्यवस्थित गरेको समानताको हकको प्रावधानअनुसार उनलाई पनि अनुसन्धान अधिकारीले आम नागरिकसरह समान व्यवहार गरी अनुसन्धान गर्नुुपर्छ । त्यसमा कसैको दबाब प्रभाव वा आग्रहले काम गर्नुहुन्न । तर, मुद्दाको अनुसन्धानका क्रममा भने अनुसन्धान अधिकारीले केही गम्भीर ढंगले उठेका प्रश्न, ती प्रश्नसँग जोडिएका, जोडिन सक्ने पात्रहरू र तिनले पल शाहलाई बर्बाद पार्नका लागि बनाएको योजना र रचेको परिपञ्च भनी चर्चामा आएका विषयसमेतलाई मध्यनजर राखी तिनलाई समेत अनुसन्धानको घेरामा ल्याई अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छाइरहेको समाचार, अभिव्यक्ति र दुवैको समर्थन र विरोधमा देशका विभिन्न स्थानमा निस्किएको भीडले समेत यसको माग गरेको छ । तर, आरोपको सम्बन्धमा अनुसन्धान भइरहँदा पलका समर्थकहरू सडकमा उत्रिएर नाराबाजी गर्नु पक्कै पनि कानुनी शासनको पक्षमा उचित मानिँदैन । उता गायिकाको पक्षमा समेत उठेका गहन र महत्वपूर्ण सवालको सन्दर्भमा अनुसन्धान र अनुसन्धानकर्ता चुक्नु पनि हुँदैन ।
यसमा केही गम्भीर सबाल छन् :
आरोपित र पीडित भनिएकी किशोरी बीच शारीरिक सम्पर्क भएको हो होइन ?
किशोरीको उमेर कति हो ?
पर्दा पछाडिका पात्र र योजना के हो ?

Advertisement

पल शाहका निजी म्यानेजर भनिएका कृष्ण जोशीले एक युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा आफूहरू (दुर्गेश थापा, सम्राट चौलागाईं र सरोज वली) ले पल शाहलाई बर्बाद पार्नका लागि गायिकालाई मोहरा बनाएका हौं । हाम्रो योजनाअनुरूप नै पल शाह फसेका हुन् भनी भनाइ राखेको भिडियो बाहिरियो । यसबाट घटना भएकै हो कि होइन ? कतै पललाई फसाउने नाममा गायिकालाई पनि फसाइएको त होइन ? यावत् प्रश्न जन्मिएकाले पर्दा पछाडिका ती पात्रहरू, जसले खुलेआम यस्ता गम्भीर अभिव्यक्ति दिँदै आएका छन्, तिनलाई समेत अनुसन्धानको दायरामा ल्याएर मात्र यस मुद्दाको अनुसन्धान अघि बढ्न सक्ने देखिन्छ ।

जाहेरी दरखास्तमा दाबी गरिएझैँ नै घटना भएको हो र सो कुरा ठहर भयो भने आरोपितले कम्तीमा १० वर्ष कैद सजाय भोग्नैपर्ने हुन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को देहाय (घ) को कानुनी व्यवस्थाबमोजिम १० देखि १२ वर्षसम्म कैद हुन सक्छ । तर, आरोप पुष्टि भएन र झुटो सावित भयो भने झुटो आरोप लगाउने व्यक्तिले पनि सजायको भागिदार बन्नुपर्दछ ।

अपराध संहिताको दफा ९८ को उपदफा (१) ले कसैले कसैलाई क्षति पुर्याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्ने अधिकारीसमक्ष झुटा कुराको दाबी लिई वा अभियोग लगाई कुनै व्यक्तिविरुद्ध उजुरी वा सूचना दिन नहुने व्यवस्था गरेको छ भने उपदफा (२) ले त्यस्तो कसुर गर्नेलाई जुन कसुरको झुटो अभियोग लगाएको हो, त्यस्तो कसुरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुने व्यवस्था गरेको छ ।

अर्थात् कथंकदाचित पल शाह कसुरदार भए १२ वर्षसम्मको कैद सजाय भोग्न बाध्य हुनेछन् भने आरोप झुटा सावित भएमा त्यस्तो झुटा आरोप लगाउनेले ६ वर्षसम्मको कैद सजाय भोग्नुपर्ने हुन्छ ।
(अधिवक्ता ढुंगाना कलाकार तथा फिल्मकर्मी पनि हुनुहुन्छ )

प्रतिक्रिया